नाकाबन्दीको एक वर्षः ‘यातना विर्सने छैनौं’

नेपाली जनताद्वारा निर्वाचितन संविधानसभाले आफैं संविधान जारी गरेको निहुँमा भारतले नेपाल विरुद्ध ७ महिना लामो नाकाबन्दी लगाएको आज एक वर्ष पुगेको छ । भारतीय नाकाबन्दीलाई राजनीतिक जामा पहिर्याउन नेपालकै मधेसी मोर्चालाई अघि सारिएको थियो । ६ महिना अघि गएको भूकम्पको विनाशबाट पुनर्निर्माणतर्फ भर्खरै घस्रिन थालेको नेपाल बिरुद्ध लगाइएको नाकाबन्दी नाजायज, औचित्यहीन, यातनापूर्ण र निन्दनीय थियो । दुर्भाग्यवस नेपालकै धेरै पत्रकार, बुद्धिजीवी, स्तम्भकार लगायतले उक्त नाकाबन्दीको घोषित वा अघोषित समर्थन गर्न पुगे । 

ती मध्ये दीपकुमार उपाध्याय, दमन ढुंगाना सहितलाई भारतीय दूताबासले १५ अगस्टका दिन बिशेष सम्मान गर्यो । नाकाबन्दीले तमाम नेपालीलाई असैह्य पीडा दियो । मधेसको हितका खातिर भनिए पनि नाकाबन्दीको वास्तविक मार मधेसमा नै ज्यादा पुग्यो । एक वर्षसम्म विकास निर्माणका काम ठप्प भए, सडक बन्द हुँदा अस्पताल नपाएर धेरै विरामीको ज्यान गयो र मधेस आन्दोलनका नाममा ५० भन्दा बढी नेपाली नागरिकको ज्यान गयो । सबैभन्दा बढी मधेसले गुमायो, नेपालले गुमायो । नाकाबन्दीको ब्यूह रचना नेपाली जनताका बीच क्षेत्रीय र जातीय आधारमा फूट ल्याउने उद्धेश्यसहित गरिएको थियो । मधेसी जनतालाई पहाड बिरुद्ध र पहाडलाई मधेस विरुद्ध उभ्याउने यो खेलमा अन्ततः यसका रचनाकार नै पराजीत भए, जनताको साथ गुमाएर कथित आन्दोलन रत्नपार्कको टेन्टमुनी खुम्चिन पुग्यो । 

रोटीबेटीको सम्बन्ध भजाएर मधेसका नेपालीलाई दास बनाउने भारतीय कुत्सित नियत पनि पराजीत हुन पुग्यो । नाकाबन्दीको पीडाले नेपाली जनताको चेतनालाई नयाँ आयाम दिएको छ । आजको सूचना र प्रविधिमा पहुँच राख्ने पुस्ता पराधीन हुन जान्दैन न त उ त्यो यातना बिर्सन नै सक्छ । त्यसैले नेपालको एक देशीय निर्भरतालाई कम गर्न उत्तरतर्फ छिटो निकास खोल्नु पर्छ भन्ने आवाज सशक्त भएको छ । यसअघि केपी ओली नेतृत्वको सरकारले त्यही आवाजको चाप महसुस गरेर चीनसँग ब्यापार तथा पारवहन सम्झौता गर्यो । अवको आवश्यकता उक्त सम्झौतालाई तिब्र कार्यान्वयन गर्दै छोटो समयमा उत्तरतर्फ सबै मौसममा चल्न सक्ने ठूलो राजमार्ग र रेल सेवाको विस्तार गर्नु हो । वर्तमान सरकार भारतीय योजनामा चल्दै तत्काललाई उत्तरतर्फ निकास खोल्ने काम अघि बढाउन तयार देखिएको छैन । प्रधानमन्त्री पुष्पकमल दाहालले बुझ्नु पर्छः नेपाली जनताको इच्छा र आकांक्षा विपरित जान कसैलाई पनि सम्भव छैन । नाकाबन्दीको पीडा बिर्सन सकिंदैन, न त क्षमा नै दिन सकिन्छ ।

,

0 comments