चिनियाँ विश्लेषण, ‘नेपालले चीनसँगको सहकार्य गर्ने अवसर गुमाउँदैछ’ - See more

काठमाडौं – बेइजिङ इन्टरनेसनल स्टडिज युनिभर्सीटीमा रहेको इन्डियन स्टडिज सेन्टरका कार्यकारी निर्देशक सु लियाङले नेपालले विस्तारै चीनसँगको सहकार्य गर्ने अवसर गुमाउँदै गएको टिप्पणी गरेका छन् । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण लगत्तै ग्लोबल टाइम्समा एक लेख प्रकाशित गर्दै लियाङले नाकाबन्दी खुलेपछि नेपाल चीनलाई बिर्सेर पुनः भारततर्फबाट ढल्किन थालेकोमा चिन्ता व्यक्त गरेका हुन् । 

लेखमा उनले आठ वर्षअघि चीनमा पहिलो भ्रमण गरेर ‘परम्परा तोड्ने’ प्रधानमन्त्री प्रचण्डमा धेरै भिन्नता आइसकेको विश्लेषण गरेका छन् । पछिल्लो सरकार परितर्वनपछि चीन सशंकित रहेको उल्लेख गर्दै केपी ओली प्रधानमन्त्री भएका बेला गरिएका सम्झौताहरु कार्यान्वयन हुने वा नहुने विषयमा चीन गम्भिर रहेको बताएका छन् । 

प्रधानमन्त्री प्रचण्डले चीनमा विशेष दूत पठाए पनि दुई देशबीच विकास भइरहेको नयाँ सम्बन्धमा धक्का लागेको र चिनियाँ राष्ट्रपतिको भ्रमण ‘रोकिएको’ दाबी गरेका छन् । लेखमा उनले नेपालले सधैँ भारतले अप्ठेरो पार्दा मात्र चीनको साथ खोज्ने गरेकोमा आक्रोश व्यक्त गरेका छन् । ‘यस्तो लाग्छ दुई देशबीचको सम्बन्ध एक्कासी कमजोर बनेको छ । चीनले धोका महसुस गरेको छ । जब काठमाडौंलाई नयाँ दिल्लीको दबाब कम गर्नु थियो, उसले बेइजिङको साथ खोज्यो । भारतमाथिको निर्भरता अन्त्य गर्न कयौं सम्झौताहरु पनि गर्यो । तर, नेपालप्रति भारतको नीति परिवर्तन हुने बित्तिकै नेपालका नेताहरुले चीनको सम्बन्धलाई बेवास्ता गरे ।’ 

‘चीनले नेपाल–भारतलाई सम्बन्धमा कहिले अवरोध खडा गरेको छैन । तर, नयाँ दिल्लीले बेलाबेला नेपाल–चीनसम्बन्धमा दख्खल दिने गरेको छ । त्यही भएर नयाँ दिल्लीभन्दा बेइजिङ नेपालको विश्वासको हकदार हो,’ उलने लेखेका छन् । लियाङले भारतबिरुद्ध चीनलाई प्रयोग गर्ने नीति यहाँका नेताहरुको नरहेपनि उनीहरु अदुरदर्शी निर्णयले बेइजिङ–काठमाडौं सम्बन्धमा असर पुर्याइरहेको विश्लेषण गरेका छन् । उनले राष्ट्रिय स्वार्थका लागि काम गर्ने हो भने नेपालका नेताहरुले परिपक्व विदेश नीति अख्तियार गर्नुपर्ने सुझाव समेत दिएका छन् । लेखमा उनले चीनलाई बार्गेनिङ चीपका रुपमा प्रयोग गर्ने हो भने नेपालकै स्वतन्त्रतामा असर पुर्याउने बताएका छन् । उनले यसमा दक्षिणतर्फ रहेको खुला सीमाको उदाहारण दिएका छन् ।

उनले नेपालले चीनले अफर गरेको वान बेल्ट वान रोड परियोजनामा सहभागी भएर नयाँ दिल्लीबाट अहिलेभन्दा कम आश्रित हुने उपायहरु खोज्न यहाँका नेतृत्वलाई सुझाव दिएका छन् । भारतको दबाबअघि प्रधानमन्त्री प्रचण्डले दुई देशबीच शुरु भएको नयाँ सम्बन्धको आयामलाई भत्काउन नहुने सुझाव दिएका छन् । ‘यो अवसर गुम्यो भने नेपाललाई नै धेरै घाटा हुने हो । अहिलेसम्म नेपाल–चीन सम्बन्धमा चीनले भन्दा नेपालले बढी फाइदा लिइरहेको छ । अहिले पनि बेइजिङले केही गुमाउने छैन । यो अवसरलाई नेपालले सदुपयोग गर्छ वा गुमाउँछ अब यो नेपालको हातमा छ,’ उनले लखेका छन् । 

, ,

0 comments