पिउने पानीको मूल्य २० रुपैयाँभन्दा बढी लिने व्यवसायीलाई बुधबार स्थानीय प्रशासनले नियन्त्रण - see more

भरतपुर ६ असोज - पिउने पानीको मूल्य २० रुपैयाँभन्दा बढी लिने व्यवसायीलाई बुधबार स्थानीय प्रशासनले नियन्त्रणमा लिएको छ । पानीको कालोबजारी गरी प्रति लिटर २५÷४० रुपैयाँसम्म असुल्ने ६ जना व्यवसायीलाई नारायणगढको पुलचोकबाट नियन्त्रणमा लिएको हो । 

१ लिटर पानीको बोतलको मूल्य २० रुपैयाँ कायम गर्न प्रशासनले पटक–पटक निर्देशन दिदा पनि अटेर गर्ने व्यवसायीलाई नियन्त्रणमा लिएर कालोबजारीअन्तर्गत मुद्धा दर्ता गरिएको छ । कारबाहीमा पर्ने व्यवसायीमा पुलचोकका सगरमाथा रेष्टुरेण्ट, रोयल रेष्ट हाउस, न्यौपाने कोल्ड स्टोर्स, अंकित कोल्ड स्टोर्स, कैलाश कोल्ड स्टोर्स र वीरेन्द्र होटल रहेका छन् । उनीहरुले प्रतिलिटर पानी बोतलमा खरिद मूल्यको दोब्बर मूल्य अर्थात शतप्रतिशत नाफा लिएर बिक्री वितरण गरेको पाइएको जिल्ला प्रशासन कार्यालय चितवनका खाद्य निरीक्षक नवीन देउजाले जानकारी दिए । 

उनीहरुलाई कालोबजारी ऐनअन्तर्गत कारबाही प्रक्रिया अघि बढाइने उनले जानकारी दिए । यसैबीच बुधबार अनुगमनका क्रममा म्याद गुज्रिएका सय लिटर भन्दा बढी पेय पदार्थ नष्ट गरिएको छ । पुलचोकका विभिन्न होटल तथा किराना पसलहरुमा गरिएको अनुगमनका क्रममा म्याद गुज्रिएका पेय पदार्थ र फुड केक नष्ट गरिएको उपभोत्ता अधिकार संरक्षण मञ्च चितवनका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । म्याद गुज्रिएका पेय पदार्थ तथा फुड केक बिक्री गर्ने व्यवसायीहरुमा अंकित कोल्ड स्टोर्स, कैलास कोल्ड स्टोर्स, ओम श्री लक्ष्मिनारायण ट्रेडर्स र पौडेल इम्पोरियम रहेका छन् । त्यस्तै मुक्ति प्रोभिजनल स्टोर्स, न्यौपाने कोल्ड स्टोर्स र सुलभ प्रोभिजनल स्टोर्स रहेको श्रेष्ठको भनाइ छ । 

उनीहरुलाई प्रशासनले बोलाएर बयान लिने र कारबाही प्रक्रिया अघि बढाउने खाद्य निरीक्षक देउजाले जानकारी दिए । उनीहरुलाई खाद्य ऐनअन्तर्गत कारबाही प्रक्रिया अघि बढाइदै छ । यो ऐनअन्तर्गत १० हजारसम्म जरिवाना वा २ वर्षसम्मको कैद वा दुवै जरिवाना हुन सक्ने देउजाको भनाइ छ । बुधबार स्थानीय प्रशासन चितवनद्वारा नारायणगढ पुलचोकका १४ भन्दा बढी होटल तथा स्टोर्सहरुको अनुगमन गरिएको थियो । अनुगमनमा उपभोक्ता अधिकार संरक्षण मञ्च चितवनका उपाध्यक्ष विष्णुप्रसाद भुषाल, प्रहरी र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । यस्ता अनुगमनलाई अझै निरन्तरता दिइने बताइएको छ ।

,

0 comments